२५ जना सदस्यबाट सुरु भएको किसान सहकारीको नयाँ फड्को ः किसान मार्टदेखि बीउ प्रशोधन उद्योगसम्म
लम्की / कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्दै बीउ प्रशोधन केन्द्र तथा भण्डारण गृह सञ्चालनमा ल्याएको छ। २५ जना शेयर सदस्यबाट सानो पूँजीमा सुरु भएको संस्थाले करिब तीन दशकको यात्रामा कृषि उत्पादनदेखि प्रशोधन, भण्डारण र बजारीकरणसम्मको सेवा विस्तार गर्दै बीउ उत्पादन तथा प्रशोधन उद्योग सञ्चालन गर्ने अवस्थामा पुगेको हो।
लम्कीचुहा नगरपालिका–४, कौवापुरमा सुदूरपश्चिम प्रदेश सरकार र संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्र तथा भण्डारण गृहको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभयो।करिब एक करोड ४१ लाख दुई हजार छ सय ६८ रुपैयाँ लागतमा निर्माण गरिएको केन्द्रमा प्रतिघण्टा दुई टन बीउ प्रशोधन गर्न सक्ने क्षमता रहेको छ। केन्द्रबाट धान, गहुँ, तोरी र मकैको बीउ प्रशोधन तथा ग्रेडिङ गर्ने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। किसानले गरेको लगानी र श्रमको उचित प्रतिफल सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।कृषि क्षेत्र मुलुकको समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले उत्पादनमूलक क्षेत्रमा किसानको लगानी र श्रमलाई जोडेर उचित प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण गर्न सरकार अघि बढिरहेको बताउनुभयो।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार शाहले संस्था स्थापना हुँदाका प्रारम्भिक दिनमा सदस्य तथा किसानलाई उन्नत बीउ उपलब्ध गराउन बाहिरबाट बीउ खरिद गर्नुपर्ने अवस्था रहेको स्मरण गर्नुभयो। वि.सं. २०५२ सालमा २५ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीले सुरुवाती चरणमा बचत तथा ऋणको कारोबार संगै किसानहरुको लागि स–साना प्याकेटमा बाहिरबाट बीउ खरिद गरी किसानलाई बिक्री तथा वितरण गर्दै आफ्नो कृषि यात्रा सुरु गरेको थियो। अहिले आफ्नै बीउ उत्पादन, प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आउनु संस्थाको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताउनुभयो। बीउ प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने सुदूरपश्चिम प्रदेश सरकारलगायत सम्पूर्ण सरोकारवालाप्रति अध्यक्ष शाहले आभार व्यक्त गर्नुभयो।
सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहका अनुसार केन्द्रले हाल करिब एक सय ४० बिघा क्षेत्रफलमा उत्पादन हुने बीउ प्रशोधन गर्ने लक्ष्य लिएको छ। केन्द्रमा प्रतिघण्टा दुई टनका दरले धान, गहुँ, तोरी र मकैको बीउ प्रशोधन तथा ग्रेडिङ गरिनेछ।किसानले उत्पादन गरेको बाली संस्थाले नै खरिद गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। न्यूनतम समर्थन मूल्यमा प्रतिक्विन्टल थप तीन सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएर किसानको उत्पादन खरिद गरिने भएकाले यसले किसानको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
किसानले उत्पादन गरेको बीउलाई संस्थाले प्रशोधन, ग्रेडिङ र सुरक्षित भण्डारण गरी पुनः गुणस्तरीय बीउका रूपमा किसानसम्म पु¥याउने लक्ष्य लिएको छ। यसबाट स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन र उपलब्धताको वातावरण बन्ने अपेक्षा गरिएको छ।
सहकारीका उपाध्यक्ष टिकेन्द्र थापाले सानो पूँजी र सीमित सदस्यबाट सुरु भएको संस्था किसानको आवश्यकता र मागअनुसार सेवा विस्तार गर्दै अघि बढेको बताउनुभयो। बीउ प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानले गुणस्तरीय बीउका लागि बाहिर निर्भर हुनुपर्ने अवस्था कम हुने उहाँको विश्वास छ।
कार्यक्रम संयोजक दिपक ढुंगानाले बीउ प्रशोधन तथा भण्डारण गृह सहकारीको दीर्घकालीन योजनाअन्तर्गत निर्माण गरिएको बताउनुभयो। उत्पादनदेखि प्रशोधन, भण्डारण र किसानसम्म बीउ पु¥याउने प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
कृषि सेवाको फराकिलो दायरा
किसान बहुउद्देश्यीय सहकारीले बीउबिजनको बिक्री–वितरणमा मात्र सीमित नरही पछिल्लो समय कृषि क्षेत्रसँग जोडिएका विभिन्न सेवा विस्तार गर्दै आएको छ। संस्थाले किसान एग्रो फार्म, कृषि ल्याब सेवा, कृषि प्राविधिक सेवा तथा शीतगृह सञ्चालन गर्दै आएको छ।
किसानलाई उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान, कृषि सामग्री तथा परामर्श,तालिम तथा मौसमि एवम् बेमौसमी तरकारी खेती सम्बन्धी तालिम तथा बिउ उपलब्ध गराउनेदेखि उत्पादनको सुरक्षित भण्डारणसम्म सहकारीले सेवा दिँदै आएको जनाएको छ।अब बीउ उत्पादन तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा आएपछि सहकारीले किसानलाई बीउ उपलब्ध गराउनेदेखि उत्पादन खरिद, प्रशोधन र बजारीकरणसम्म जोड्ने संरचना तयार गरेको छ।
किसान मार्ट ः उत्पादनदेखि बजारसम्म
कृषि उत्पादनको बजारीकरणलाई समेत प्राथमिकतामा राख्दै संस्थाले किसान मार्ट सञ्चालन गर्दै आएको छ। किसानले उत्पादन गरेका कृषि उपज तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको किसान मार्टले उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ।
किसानको उत्पादन खरिद गर्ने, प्रशोधन तथा भण्डारण गर्ने र किसान मार्टमार्फत बजारसम्म पु¥याउने प्रयासले किसानलाई उत्पादनसँगै बजारको सुनिश्चिततासमेत दिने अपेक्षा गरिएको छ। यसरी बीउ उत्पादनदेखि प्रशोधन, भण्डारण, कृषि प्राविधिक सेवा, शीतगृह हुँदै किसान मार्टमार्फत बजारीकरणसम्मको संरचना विकास गर्दै सहकारीले आफूलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी उत्पादनमुखी र किसानकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रयास गरिरहेको छ।
२५ जनाबाट ९५ हजारभन्दा बढी सदस्यसम्म
२५ जना शेयर सदस्यबाट सुरु भएको किसान बहुउद्देश्यीय सहकारी अहिले ठूलो सदस्य आधार भएको संस्थाका रूपमा विस्तार भएको छ। संस्थाले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको वित्तीय विवरणअनुसार सहकारीमा ९५ हजार आठ सय ४१ सदस्य, ४० वटा शाखा र तीन सय दुई जना कर्मचारी रहेका छन । सहकारीको शेयर पुँजी ५ करोड ४८ लाख ९४ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाको कुल बचत ५ अर्ब ५३ करोड ९६ लाख ६ सय ३२ रुपैयाँ, कुल सम्पत्ति ७ अर्ब ४६ करोड ६६ लाख ४ हजार ४ सय ७७ रुपैयाँ र लगानीमा रहेको कर्जा ५ अर्ब ८६ करोड ६१ लाख १३ हजार ७९ रुपैयाँ रहेको छ।संस्थाको कुल संस्थागत पुँजी ४३ करोड ११ लाख ७ हजार ५ सय २६ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। विभिन्न कोषमा ५९ करोड ९५ लाख ६ हजार ९ सय १७ रुपैयाँ जम्मा रहेको छ।
त्यस्तै, संस्थाको तरलता रकम १ अर्ब २९ करोड ९६ लाख ६ हजार ४ सय ५४ रुपैयाँ, तरलता अनुपात २७ दशमलव ६५ प्रतिशत रहेको छ। सहकारी संस्थाको बाह्य कर्जा नरहेको विवरणमा उल्लेख छ। तीन दशकको अवधिमा संस्थाले वित्तीय सेवासँगै कृषि, उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणका क्षेत्रमा समेत लगानी र सेवा विस्तार गर्दै आएको छ।
सानो पूँजीबाट सुरु भएको सहकारी अहिले हजारौँ किसान र सदस्यसँग जोडिँदै कृषि उत्पादनको चक्रसँगै अघि बढ्नु संस्थाको महत्वपूर्ण रूपान्तरणका रूपमा हेरिएको छ।
किसानको बीउ, किसानकै उत्पादन र किसानकै बजार
बीउ प्रशोधन केन्द्र सञ्चालनसँगै किसान बहुउद्देश्यीय सहकारीले किसानलाई बीउ उपलब्ध गराउने मात्र नभई किसानले उत्पादन गरेको बाली खरिद गर्ने, प्रशोधन तथा भण्डारण गर्ने र बजारसम्म पु¥याउने प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।यसले स्थानीय किसानलाई गुणस्तरीय बीउ, प्राविधिक सेवा, उत्पादनको बजार र उचित मूल्य प्राप्त गर्ने अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकारीको करिब तीन दशकको यात्राले २५ जना शेयर सदस्यबाट सुरु भएको संस्था कसरी कृषि, वित्तीय सेवा, उत्पादन, प्रशोधन र बजारीकरणलाई एकै ठाउँमा जोड्ने संस्थाका रूपमा विस्तार हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
बीउ प्रशोधन केन्द्र तथा भण्डारण गृह उद्घाटन कार्यक्रम
सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको सभापतित्वमा सम्पन्न बीउ प्रशोधन केन्द्र तथा भण्डारण गृह उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र विशिष्ट अतिथिका रूपमा लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लबबहादुर शाही रहनुभएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका–४ का वडा सदस्य खडक भाट, वडा नम्बर २ का वडा सदस्य भवानसिंह भण्डारी, सहकारीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य तथा किसानहरूको उपस्थिति रहेको थियो।








प्रतिकृया दिनुहोस