सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र कहाँ कहाँ छन् / प्रदेशमा दुई वर्षमा १६ जनाको सर्पदंशबाट मृत्यु /
लम्की । भदौ २४
बर्खायाम सुरु भएसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। घरवरपर सरसफाइमा ध्यान नदिने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने तथा सर्पले टोकेपछि समयमै उपचारका लागि नजाँदा हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशमा सर्पको टोकाइबाट १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक पुरुष, चार महिला, चार बालक र तीन बालिका रहेका छन्। सोही वर्ष सर्पको टोकाइबाट १०५ जना घाइते भएका थिए।
यस्तै आर्थिक वर्ष २०८२÷०८३ मा सर्पदंशबाट चार जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ। मृत्यु हुनेमा तीन पुरुष र एक बालिका छन्। उक्त वर्ष ६३ जना सर्पको टोकाइबाट घाइते भएका थिए। घाइते हुनेमा १६ पुरुष, २१ महिला, १५ बालक र ११ बालिका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टका अनुसार चालु आर्थिक वर्षमा पनि सर्पदंशबाट मानिसको मृत्यु भएको छ।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सर्पदंशको जोखिम तुलनात्मक रूपमा बढी छ। बर्खाको समयमा पानीका कारण सर्पहरू सुरक्षित स्थान खोज्दै घर तथा बस्ती आसपास आउने भएकाले थप सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
सेती प्रादेशिक अस्पतालका चिकित्सक गजेन्द्र दुवालका अनुसार सर्पको टोकाइबाट जोगिन घरवरपर सफा राख्ने, पर्खाल तथा आँगनमा रहेका दुला पुर्ने र झाडी हटाउने गर्नुपर्छ। खेतबारीमा काम गर्दा बुट लगाउने, राति हिँड्दा टर्चको प्रयोग गर्ने तथा सुत्दा झुलको प्रयोग गर्न उनले सुझाव दिएका छन्।
सर्पले टोकेमा भने झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पु¥याउनुपर्ने चिकित्सक दुवाल बताउँछन्। समयमै उपचार पाए सर्पदंशबाट हुने मृत्यु रोक्न सकिने उनको भनाइ छ।
कैलालीमा सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, बडैपुर आर्मी ब्यारेक र अत्तरियास्थित तेघरी आर्मी ब्यारेकमा सर्पदंशको उपचार हुने गरेको छ।
कञ्चनपुरमा महाकाली अस्पताल, श्री २ नम्बर गण महेन्द्रनगर, भगतपुरस्थित सर्पदंश उपचार केन्द्र, नम्बर २५ फिल्ड गुल्म अर्जुनी ब्यारेक, श्री भवानी बक्स गण मझगाउँ ब्यारेक, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र र दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था रहेको छ।
त्यस्तै डडेल्धुराको जोगबुडा अस्पताल, अछाम जिल्ला अस्पताल मंगलसेन, बाजुरा जिल्ला अस्पताल तथा डोटी जिल्ला अस्पताल र सामुदायिक प्रहरी सर्पदंश उपचार केन्द्रमा पनि सर्पदंशको उपचार हुने गरेको छ। यीमध्ये सम्बन्धित केन्द्रमा निःशुल्क उपचारको व्यवस्था रहेको चिकित्सकले बताएका छन्।
सर्पदंशबाट हुने मृत्यु रोक्न सावधानीसँगै समयमै उपचारमा पुग्नु महत्वपूर्ण हुने चिकित्सक दुवालको भनाइ छ।









प्रतिकृया दिनुहोस