नगर उद्यान मोहनलाल सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न

 
 
भदौ २६ / कैलालीको लम्कीचुहा नगरपालिका–२, बघनियाँमा रहेको नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहको ८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार समूहको कार्यालय बघनियाँमा सम्पन्न साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८२र०८३ को आय व्यय विवरण तथा आर्थिक वर्ष २०८३र०८४ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरिएको   थियो ।


समूहले आर्थिक वर्ष २०८२र०८३ मा २८ लाख १५ हजार रुपैयाँ बराबरको आम्दानी गरेको थियो भने आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि भने ७६ लाख २८ हजार रुपैयाँ बराबरको आय व्यय अनुमान गरिएको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदनमाथि धारणा राख्दै उपभोक्ताहरूले समूहलाई थप सुदृढ र सबल बनाउन अनावश्यक खर्च कटौती गर्दै सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनीहरूले लामो समयदेखि चर्चामा रहेको नगर उद्यान निर्माणको कामलाई पनि छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।


समूहका अध्यक्ष बखत बहादुर विष्टले उपभोक्तालाई सम्बोधन गर्दै संस्थाको कामलाई सुशासन, पारदर्शिता र व्यवस्थित बनाउन नियमित रूपमा १७ वटा बैठक सम्पन्न गरिएको बताए । उनले नगर उद्यान निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको र उद्यानभित्र आवश्यक संरचना निर्माणका लागि प्रदेश सरकारसँग समेत बजेट माग गरिएको जानकारी दिए ।


२०५५ सालमा स्थापना भएको समूहले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जनमा सहयोग गर्दै आएको अध्यक्ष विष्टले बताए । आगामी दिनमा पनि वन संरक्षण, उपभोक्ताको हित र सामुदायिक विकासका कामलाई निरन्तरता दिने उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका–२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले सामुदायिक वनले वन संरक्षणका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै नगर उद्यान निर्माणको काम छिट्टै सञ्चालन गरिने बताए । उनले वडाभित्र विभिन्न विकास निर्माणका काम सञ्चालन भइरहेको जानकारी दिँदै छुटेका स्थानमा आवश्यकताअनुसार घेरापर्खाल निर्माण गरिने बताए । 


त्यस्तै, विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका–५ का वडा अध्यक्ष माया विष्टले सामूहिक प्रयासबाट नै विभिन्न संघसंस्था र समुदायले सफलता हासिल गर्न सक्ने बताइन् । उनले सामुदायिक वन समूहलाई अझै सबल, सुदृढ र प्रभावकारी बनाउन सबै उपभोक्ताको सामूहिक भूमिका आवश्यक रहेको बताइन् ।
८ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा करिब ३ सय उपभोक्ताको सहभागिता रहेको थियो । सभाले प्रस्तुत गरिएका प्रतिवेदनहरूलाई बहुमतका साथ पारित गरेको थियो ।

प्रतिकृया दिनुहोस