लम्की मानवसेवा चौथो वर्षमा प्रवेश, नवनिर्मित भवनको उद्घाटन
लम्की / सडक मानव तथा बेसहाराका लागि सहारा बनिरहेको कैलालीको लम्कीस्थित मानवसेवा आश्रम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ । २०७९ साल असोज २ गते स्थापना भएको लम्की मानवसेवा आश्रम आजदेखि चौथो वर्षमा प्रवेश गरेको हो ।
चौथो स्थापना दिवसको अवसरमा लम्की मानवसेवा आश्रमले आफ्नो नवनिर्मित तीनकोठे पक्की भवनको उद्घाटनसमेत गरेको छ । लम्कीचुहा नगरपालिकाको करिब ४४ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको तीनकोठे पक्की भवनमा हाल ११ जना बालबालिकासहित २४ जना बस्दै आएका छन् ।
नवनिर्मित भवनको उद्घाटन गर्दै लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख तथा लम्की मानवसेवा आश्रमकी आजीवन सदस्य सुशीला शाहीले विभिन्न चुनौतीका बाबजुद लम्कीचुहा नगरपालिकाले भवन निर्माण गर्न सफल भएको बताइन् । ‘यो लम्की मानवसेवा आश्रम बनाउनका लागि कम चुनौती थिएन । वन, कानुन तथा बजेटका कुराहरू थिए । संघ सरकारबाट बजेट कटौती, वन क्षेत्रले निर्माण कार्यमा पु¥याएको बाधा र समयसीमाजस्ता थुप्रै चुनौती थिए । तर, अन्ततः हामीले यो भवन निर्माण गर्न सफल भएका छौँ,’ उनले भनिन् । नगर प्रमुख शाहीले आफ्नो कार्यकालसम्म भवनमा थप तला थप्नुका साथै अपूरा तथा निर्माणाधीन कामहरू सम्पन्न गर्ने बताइन् । त्यस्तै, नगर प्रमुख शाहीले प्रतिमिनेट ८ लिटर अक्सिजन प्रवाह हुने अक्सिजन कन्सन्ट्रेटरसमेत आश्रमलाई उपलब्ध गराएकी थिइन् ।
लम्कीचुहा नगरपालिका वडा नं. १ का सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि सिद्धराज तिमिल्सेनाले लम्की मानवसेवा आश्रम स्थापनाकालदेखि नै सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।
मानवसेवा आश्रमका आजीवन सदस्य पदमराज चौलागाईंले मानवसेवा उत्कृष्ट कार्य भएको बताउँदै आफूबाट हुने सहयोग निरन्तर रहने बताए । उनले ढुक्क भएर निरन्तर सेवामा खटिन आग्रहसमेत गरेका थिए ।
कसरी बनेको थियो लम्की मानवसेवा आश्रम ?
लम्की मानवसेवा आश्रमका सञ्चालक विनोद थापा कक्षा ७ मा पढ्दै गर्दा नै मानवीय सेवाको कर्ममा खटिन थालेका थिए । आर्थिक रूपमा कमजोर बालबालिकाले अध्ययनको सिलसिलामा भोग्नु परेका विभिन्न कठिनाइलाई नजिकबाट नियालेका विनोदलाई त्यसले मानव सेवातर्फ डो¥याउँदै गयो ।
मानव सेवामा लाग्ने हुटहुटी भए पनि त्यसका लागि गर्नुपर्ने कामका लागि विनोदसँग न स्रोत थियो, न साधन । तर, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ उनले आफू बस्दै आएको घरमै आश्रम खडा गरे । आफू, आमा र बुवालाई नजिकैको गोठमा सारेर विनोदले घरलाई आश्रमका रूपमा प्रयोग गर्न थाले ।
सुरुका दुई वर्ष अनेकौँ दुःख र कठिनाइ सहँदै मानव सेवामा लागेका विनोद आज ७५ जनालाई उनीहरूको आफ्नै घरसम्म पु¥याउन सफल भएका छन् । उनले २३ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छन् । यही संघर्षका बीचमा विनोदको लम्की मानवसेवा आश्रमले आज आफ्नै भवनको उद्घाटन गर्न सफल भएको छ । भवन निर्माण गर्न सफल भए पनि विनोदको लम्की मानवसेवा आश्रमका चुनौती भने सकिएका छैनन् ।
आश्रममा बस्नेहरूको संख्या अनुसार सुत्ने कोठाको अझै समस्या रहेको छ । बिरामी भएका र नभएकालाई एउटै स्थानमा राख्नुपर्ने भएकाले रोग फैलिने जोखिमसमेत रहने विनोद बताउँछन् ।
‘दिउँसो त भवनको चौरमा, बरन्डामा राख्छौँ । तर, सुताउनुपरे सबैलाई एउटै कोठामा सुताउनुपर्छ । यसले बिरामी सर्ने जोखिम धेरै हुन्छ,’ उनले भने । त्यस्तै, बिरामीको नियमित जाँच तथा स्वास्थ्योपचार नहुँदा पनि कठिनाइ हुने गरेको विनोद बताउँछन् ।









प्रतिकृया दिनुहोस