विज्ञ सल्लाहकार नियुक्तिमा कानुनी स्पष्टता माग

कैलाली /  निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नियुक्त गरेका अवैतनिक विज्ञ सल्लाहकारको नियुक्ति तथा त्यससँग सम्बन्धित प्रक्रियाका विषयमा कानुनी स्पष्टता कायम गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

 

सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने विषयमा शुक्रबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेता शाहले यस्तो आग्रह गर्नुभएको हो। उहाँले प्रदेश सरकारले विज्ञ सल्लाहकार नियुक्त गरेपछि अघि बढाइएका प्रक्रियासमेत प्रचलित कानुन र निर्धारित विधिअनुसार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।

 

कुनै पनि सरकारी नियुक्ति वा निर्णय स्पष्ट कानुनी आधार, प्रचलित कानुन तथा निर्धारित प्रक्रियाअनुसार मात्र गरिनुपर्ने उल्लेख गर्दै उहाँले कानुनी आधारबिना गरिने नियुक्ति वा निर्णयले भविष्यमा जटिलता सिर्जना गर्न सक्ने धारणा व्यक्त गर्नुभयो। प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट निर्माण प्रक्रियामा सहजीकरणका लागि झपट बोहरा र टंकमणि शर्मालाई विज्ञ सल्लाहकारका रूपमा नियुक्त गरेको थियो। बैठकमा नेता शाहले प्रदेशको विकास, सुशासन र जनताको हितका सवालमा सबै पक्ष जिम्मेवार, संयमित र रचनात्मक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो।

 

प्रदेश र जनताको हितलाई सर्वोपरि राख्दै संवाद, सहमति र सहकार्यका माध्यमबाट वर्तमान समस्याको समाधान खोज्नु नेपाली कांग्रेसको प्राथमिकता रहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकार र प्रतिपक्षबीच आवश्यक संवाद, सहमति र सहकार्य गरी संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार बजेट निर्माण र कार्यान्वयनको बाटो खोल्नुपर्नेमा जोड दिनुभयो।

 

प्रदेशको समग्र विकास तथा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको बजेट कार्यान्वयनमा देखिएको अन्योललाई लामो समयसम्म कायम राख्न नहुने भन्दै नेता शाहले विद्यमान समस्याको संवैधानिक तथा कानुनी निकास तत्काल खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिकृया दिनुहोस